जनकपुधाम, १२ कार्तिक । प्रहरी समायोजनको विषयलाई लिएर प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । प्रहरी समायोजनाको प्रक्रिया सुरु नगर्दै संघीय सरकारले संविधानको मर्ममविपरीत प्रहरी भर्नाको सूचना आह्वान गरेको भन्दै प्रदेश २ सरकारले त्यसविरुद्ध अदालत जाने तयारी गरेको हो ।
संविधानमा प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई तोकिए पनि संघीय सरकारले प्रदेशसँग कुनै समन्वय नै गरी एकलौटी रूपमा प्रहरी भर्ना प्रक्रिया सुरु गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।
संघीय सरकार र गृह मन्त्रालयविरुद्ध मुद्दा दिने तयारी भइरहेको उल्लेख गर्दै काठमाडौंमा रहेका मन्त्री यादवले भने, ‘प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारविरुद्ध मुद्दा दर्ता गर्ने उद्देश्यले आएको छु, त्यसको आवश्यक तयारी भइसकेको छ, अब केहि दिनमै सर्वोच्चमा मुद्दा दायर गर्छौँ ।’
प्रदेश सरकारले प्रदेश प्रहरी भर्नासम्बन्धी आवश्यक कानुन दुई वर्षअघि नै बनाए पनि संघीय सरकारले प्रहरी समायोजन ऐन २८ माघ २०६६ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्दा पनि कार्यान्वयनमा नआएको भन्दै ९ असोजमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले गृहमन्त्री थापालाई प्रहरी समायोजना प्रक्रिया अगाडि बढाउन लिखित आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया