बारा, २२ चैत । बारमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा ८५ लाखको मेसिन प्रयोगविहीन बनेको हो ।
मेसिन, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा उपमहानगरपालिकाले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जडान गरिए पनि सञ्चालन नहुँदा कोठाभित्र थन्क्याइएको छ ।
मेसिन खरिदका लागि १२ लाख अनुदान सहयोग गरेका महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले एक करोड खर्चेर मेसिन जडान भए पनि सञ्चालनमा नआउनु नागरिकको स्वास्थ्य अधिकारप्रतिको खेलबाड भएको बताए ।
संघीय र प्रदेश सरकारले कोराना जाँचका लागि अनुमति नदिँदा मेसिनबाट कोरोना परीक्षण गर्न नसकिएको कलैया उपमहानगरका मेयर राजेशराय यादव बताउँछन् ।
कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट सञ्चालन स्वीकृति नलिँदै मेसिन खरिद गरिएको थियो ।
मेसिन खरिदपछि ११ जना प्राविधिक र कर्मचारीसमेत उपमहानगरले नियुक्त गरेको थियो । मेसिन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले माथिल्लो निकायमा पत्राचार गरे पनि कुनै अनुमति नआएको कलैया उपमहानगरअन्तर्गतका जनस्वास्थ्य निरीक्षक अजय जयसवालले बताए । उनले भने, ‘अहिले कोरोनाको त्रास बढेकाले मेसिन सञ्चालनमा ल्याउनु जरुरी छ ।’
जिल्लामा कोराना संक्रमणबाट ३० भन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय सीमासित जोडिएको यस क्षेत्रमा जोखिम रहे पनि मेसिन सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय र कलैया जिल्ला अस्पतालले जिम्मेवारी नदिएको स्वास्थ्य कार्यालय प्रमुख रामनरेश यादवले बताए ।
तपाईको प्रतिक्रिया