बाँकेमा सशस्त्रका चार बिओपी स्थापना

समाचार

10/20/2020

नेपालगञ्ज, ५ कात्तिक । बाँकेको भारतसँग सिमाना जोडिएका विभिन्न चारवटा नाकामा सीमा सुरक्षा लगायत अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीका चारवटा पोष्ट स्थापना गरिएको छ ।

जिल्लाका सीमावर्ती नाकाहरु कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ती चारवटै बिओपीको लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख तथा डिआइजी किशोर प्रधानले उद्घाटन गरे । सो अवसरमा बोल्दै डिआइजी प्रधानले सशस्त्र प्रहरीले चोरी पैठारी, अवैध सामान ओसारपसार, चेलीबेटी बेचबिखन रोकथाम, सीमा सुरक्षालगायतका कार्य गर्दै आएको बताए ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले एकै पटक चार ठाउँमा बोर्डर आउट पोष्ट स्थापना भएपछि सिमानामा हुने अवैध चोरी तस्करी र आवागमनलाई नियन्त्रण गर्न ठुलो सहयोग मिल्ने बताए । डुडुवाको कालाबञ्जार र खडैंचा, नेपालगञ्जको जमुनाहा तथा नरैनापुरको कट्कुइँया नाकाबाट ठुलो परिमाणमा अवैध आयात लगायत मानिसहरुको पनि आवागमन हुने गरेको गुनासो पटक पटक आउने गरेकोमा अब ती सबै नाकामा सशस्त्र प्रहरीले प्रत्यक्ष निगरानी राख्ने बाँकेका सशस्त्र प्रहरी प्रमुख एसपी अशोक बमले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ