रुपन्देही, २१ फागुन । बुटवल वडा नं.११ नहरपुरस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिका बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत नेरु. ४.४१७ करोडको लागतमा उक्त नयाँ भवनको निर्माण हुनेछ ।
सन् १९७१ मा स्थापना भएको यस श्री नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । यस विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।
सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातै वटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
तीमध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश–५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।
भारतले नेरु ५८०० मिलियन पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ ।
यस पुनर्निर्माण कार्यक्रमअन्तर्गत आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेण्डर प्रक्रिया अघि बढिरहेको छ ।
निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको छ । दुवै पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा हातेमालो गर्ने भारत सरकारको अटूट प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
तपाईको प्रतिक्रिया