महोत्तरी, २ असोज । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाजको समन्वयमा बाढी पीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।
नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद चन्दा चौधरीले टेन्ट २५ र त्रिपाल ५० गरी करीव ७५ थान श्री राजकीय संस्कृत मा. वि. मटिहानीमा नगर प्रमुख हरि प्रसाद मण्डललाई शुक्रबार एक समारोहबीच हस्तान्तरण गरेकी छन् ।
सो अवसरमा मञ्चकी अध्यक्ष एवं सांसद चौधरीले नेपालका विभिन्न जिल्लामा बाढीपहिरो पीडित परिवारहरुलाई भारत सरकारको सहयोगमा राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको बताइन् ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीयहरु रामकुमार मंडल, उपेन्द्र चौधरी, विजय कुमार साह, उमाशंकर साह, बैद्यनाथ मण्डल, नागेन्द्र लाल कर्ण र प्रा. हेमनारायण लाल कर्ण लगायतका वक्ताहरुले प्राकृतिक प्रकोप लगायत अन्य क्षेत्रमा भारत सरकारको सहयोगको सराहना गरेका थिए ।
प्राप्त सामाग्री चाँडै प्रभावितहरुलाई वितरण गरिने कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।
तपाईको प्रतिक्रिया