बारा, १४ कार्तिक । बाराको सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा बुधबार राति भएको प्रहरी र स्थानीयबीच झडपको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाराले छानबिन समिति गठन गरेको छ ।
भारतबाट तीन वटा मोटरसाइकलमा ल्याइँदै गरिएको आलु र प्याजलाई प्रहरीले नियन्त्रणमा लिँदा स्थानीयले अवरोध गरेका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो। गोली लागी एक बालक घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराले प्रशासकीय अधिकृत सुरेन्द्र यादवको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल १२ नम्बर गण नेपालका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान कार्यालय बाराका शोभाकान्त चौधरी रहेका छन् ।
समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न म्याद दिइएको छ । घटनाको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ता सडकमा उत्रिएर प्रहरीविरुद्ध बिहीबार कलैयामा नाराबाजी गरेका थिए ।
प्रहरीको गोली लागेर सुवर्ण गाउँपालिका–२ का १४ वर्षीय रन्जन कुमार यादव घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ स्थानीय एसआर अस्पतालमा उनको उपचार हुन नसक्दा थप उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ ।
तपाईको प्रतिक्रिया