वीरगन्ज, ४ चैत । बहुविवाहको मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका एकजनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नम्बर ३ बस्ने दिनेश प्रसाद केशरी रहेका छन् ।
केशरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालत कलैयाको २०७२ वैशाख ३ गतेको फैसलाले १ वर्ष कैद र १० हजार रुपैयाँ नगद जरिवाना ठहर गरेको थियो ।
फरार रहँदै आएका उनलाई प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका केशरीलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया