गोरखा, १२ मंसिर । भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले उद्घाटन गरेका छन् ।
महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेपेटार र रत्नलक्ष्मी मावि डुम्रीडाँडामा नवनिर्मित विद्यालय भवनको शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन भएका हुन् ।
विद्यालय भवन उद्घाटन गर्दै विदेश सचिव श्रृङ्गलाले वीर गोरखाली भनेर विश्वभर चिनिएको गोरखामा आउन पाउँदा खुशी लागेको नेपाली भाषामा बोल्दै बताएका थिए । साथै नेपाली एकीकरणको सुरुवात गोरखाबाटै भएकाले गोरखामा आउन पाउँदा खुशी लागेको बताएका थिए ।
साथै उनले २०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु गोरखा र नुवाकोटमा ५० हजार वटा निजी आवास पुनर्निर्माण भइरहेको बताए । ‘२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको छ ।
सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भइरहेको छ’, उनले भने, ‘नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन् ।
भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय भवन पुनर्निर्माण भइ रहेका छन् । १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको छ ।’
नेपाल र भारत बीचको सम्बन्ध सँधै सुमधुर भइरहने उनले विश्वास व्यक्त गरेका थिए । सो कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भूकम्पका कारण संकटमा परेका बेला सहयोग गरेकोप्रति भारत सरकारप्रति आभार व्यक्त गरेका थिए ।
त्यस्तै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा नगरपालिका र भारतको गोरखपुर निगमबीच भगिनी सम्बन्ध कायम गर्न सहयोग गरिदिन अनुरोध गरेका थिए ।
तपाईको प्रतिक्रिया