भारतबाट दुई सेट रेल शुक्रबार नेपाल आउने

समाचार

9/17/2020

जनकपुरधाम, १ असोज । जनकपुर–जयनगर रुटमा चल्ने रेल भारतबाट दुई वटा रेल शुक्रवार जनकपुरधाम आइपुग्ने भएका छन् । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल शुक्रवा मध्याह्नसम्म जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याउन लागेको हो ।

उनका अनुसार रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाममा छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो । तर रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि शुक्रवार आउन लागेको हो । रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा रेल्वे विभागले बुझ्‍नेछ । रेल आइपुग्ने पक्का भएपनि सञ्‍चालन मिति निश्चित भइसकेको छैन ।

रेल आएपछि छिट्टै संचालन गर्ने तयारी भइरहेको छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्‍न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ