काठमाडौं, १५ पुस । भारतको आर्थिक सहायतामा नेपालमा सञ्चालित परियोजनाहरुको अनुगमन गर्न भारतीय विदेश मन्त्रालयको ३ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ ।
भारतीय विदेश मन्त्रालयको ग्लोबल इस्टेट म्यानज्मेन्ट विभाग अन्तर्गतका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा ३ सदस्यीय टोली नेपाल आइपुगेको हो ।
टोलीमा कर्णेल समेत रहेका सुपरिटेण्डिङ इन्जिनियर विनय बहल र वरिष्ठ आर्किटेक्ट निधि आनन्द छन् ।
भारतीय दूतावासका अनुसार भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका तथा सञ्चालनका क्रममा कठिनाइ रहेका परियोजनाहरुको टोलीले अध्ययन तथा अनुगमन गर्ने छ । टोलीले नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगति प्रतिवेदन पनि तयार गर्ने छ ।
काठमाडौंमा प्रस्ताव गरिएको अडिटोरीयम हल, खेलकुद रंगशाला लगायतका परियोजना बन्न ढिलाई भइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी के कति कारणले ढिलाई भएको हो एकिन गरी सो परियोजना अघि बढाउने वा बन्द गर्नेसम्मको सुझाव दिने गरी टोली नेपाल भ्रमणमा आएको हो ।
तपाईको प्रतिक्रिया