काठमाडौं, ८ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।
यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
भ्रमणको क्रममा विदेश सचिव श्रृंगलाले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नेछन् ।
नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ ।
हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ ।
भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।
तपाईको प्रतिक्रिया