काठमाडौं, २ मंसिर । चीनसँगको विवादबीच मंगलबार क्वाड समूहमा आवद्ध भारत, जापान, अमेरिका र अस्ट्रेलियाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार अरब सागरको मालाबर तट नजिकै यी राष्ट्रका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् ।
चीन र यी चारै देशबीच विवाद भइरहँदा सैन्य अभ्यास हुन लागेको हो । शुक्रबारसम्म हुन लागेको युद्ध अभ्यासमा अमेरिका र भारतका विमानवाहक युद्धपोत पनि समावेश हुनेछन् । चीन र यी चार देशबीच हाल सम्बन्ध राम्रो छैन ।
भारत र चीन प्रत्यक्ष रुपमा सीमा विवादमा होमिएका छन् । त्यस्तै दक्षिण चीन सागरको दाबी गर्ने चीनको अमेरिका, जापान र अस्ट्रेलियाले आलोचना गरिरहेका छन् ।
क्वाड समूहलाई चीनले आफूविरुद्धको मोर्चाको रुपमा व्याख्या गरेको छ । दक्षिण चीन सागरको दाबीकर्ता नभएकाले चीनले यी देशलाई हस्तक्षेप नगर्न चेतावनी दिइरहँदा यी देशले भने चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएको छ ।
अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको छ । चीनसँग अन्य केही देशले पनि दक्षिण चीन सागर आफ्नो भएको बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया