नेपालगन्ज, १० भाद्र । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य मो. इस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले आफू मन्त्री भएको बेला अन्य क्षेत्रका बजेटहरु कटौती गरेर भएपनि नेपालगन्जलाई समृद्ध शहरको रुपमा विकास गर्न खोजेको भन्दै भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको बजेट उपमहानगरले फ्रिज गराएको आरोप लगाएका छन् ।
बाँके क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद राईले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरी नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले उपमहानगरपालिकाको विज्ञप्तिले नगरबासीलाई थप भ्रमित बनाएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे । संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको डेढ करोड रकमबाट आफुले भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको रकम कार्यान्वयन नगरी उल्टै फ्रिज गराउने अवस्थामा पुर्याउनु दुर्भाग्यपूर्ण भएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले रकम सदुपयोग गर्न नसकेर दोष उल्टै आफूलाई दिएकोमा राईले आक्रोश पोखे । संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट नियमपूर्वक उपमहानगरपालिकामार्फत भेरी अस्पतालमा भेन्टिलेटर खरिद गर्न उपलब्ध गराएको स्पष्ट पार्दै उहाँले बजेट ढिला गरी प्राप्त भएकाले कार्यान्वयन गर्न सकिएन भन्ने उपमहानगरपालिकाको भनाइमा कुनै सत्यता नभएको उनले दाबी गरे ।
उनले महामारीको विपदमा पनि उपमहानगरपालिकाले भेन्टिलेटर खरिदका लागि दिइएको रकम फ्रिज गराउनु निन्दनीय भएको बताए । कार्यक्रममा प्रदेश सांसद विजय यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जिल्ला अध्यक्ष कमरुद्दिन राईलगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया