काठमाडौं, १५ भाद्र । छिमेकी मित्रराष्ट्र भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेकी छन् ।
सोमबार साँझ ८४ को उमेरमा मुखर्जीको निधन भएको हो । उनी पछिल्लो केही दिनदेखि सिकिस्त थिए र दिल्लीको आर्मी अस्पतालमा उपचाररत् थिए । पछिल्लो समय उनी कोरोना संक्रमितसमेत भएका थिए ।
राष्ट्रपति भण्डारीले समवेदना व्यक्त गर्दै भनेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’
तपाईको प्रतिक्रिया