मोटरसाइकलसहित पाँचजना पक्राउ

समाचार

2/4/2021

जनकपुरधाम, २२ माघ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिकाबाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो ।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका बस्ने २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् । यसमध्ये जितेन्द्र चोरिएको मोटरसाइकल खरिद गर्ने व्यक्ति हुन् ।

सशस्त्र प्रहरी जवान मिथिलेशको चोरिएको ज ८प ८७७५ नम्बरको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य ३ वटा मोटरसाइकल पनि उसैले चोरी गरेको खुल्यो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ