मटिहानीका नगरप्रमुख माथिको मुद्दा खारेजीको माग गर्दै जलेश्वरमा जसपाको वृहत प्रदर्शन

समाचार

11/18/2020

महोत्तरी, ३ मंसिर । जिल्लाको मटिहानी नगरपालिकाका नगरप्रमुखसहित विभिन्न कार्यकर्ताहरुमाथि स्थानीय प्रशासनले लगाएको झुठा मुद्दा खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले बुधबार जलेश्वरमा वृहत प्रदर्शन गरेको छ ।

शिक्षा कार्यालयबाट निस्केको सो जुलुस खैरा चौक, महेन्द्र चोक, शंकर चोक हुँदै नगरपालिका चोकमा रहेको बजारमा गएर कोणसभामा सम्पन्न भएको थियो ।

नगरप्रमुख माथि लगाइएको मुद्दा खारेज गर, स्थानीय प्रशासन मुर्दावाद लगायतका नाराबाजी गर्दै गरिएको प्रदर्शनमा हजारौं जसपा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । प्रदर्शनका कारण जलेश्वर नगरपालिका भित्रमा ट्राफिक जाम समेत हुन पुगेको थियो ।

कार्तिक १० गते विजया दशमीको राति दुर्गा पुजाको मूर्ति भसानको (सेलाउने) क्रममा जिल्लाको मटिहानी नगरपालिकामा दुई पक्षीय विवादले राजनीतिक रुप लिएको छ ।

मटिहानी नगरपालिकाको वडा नं. ८ मा विजया दशमीको राति झडप हुँदा दुवैतर्फ गरि दर्जनभन्दा बढी घाइते भएका थिए ।

एकपक्षले मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलको उपस्थितिमा झडप भएको भन्दै आएका छन् भने मेयर पक्षकाहरुले पूर्व नियोजित रुपमा नेकपा पक्षका नेता, कार्यकर्ताहरुले झडप गराई नगरप्रमुखलाई बदनाम गराउने कोशिश गरिरहेको जनाएको छ ।

सोही मुद्दामा दुवै पक्षबाट मुद्दा दर्ताको प्रयास गरिएको भएपनि नगरप्रमुख पक्षको मुद्दा दर्ता भएको छैन ।

सो घटनामा मटिहानीका नगरपालिकाको नगरप्रमुख, जिल्ला समन्वय समितिका सदस्य र एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमण भएकोमा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनले नगरप्रमुख मण्डललगायत माथि मुद्दा दर्ता गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेका हुन् ।

सो प्रदर्शनमा जसपाका नेता राजकिशोर यादव, प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्र यादव, प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारीसहित मटिहानी, जलेश्वर, भंगहा, मनरासिश्वा नगरपालिकाका नगरप्रमुख तथा सोनमा, एकडारा गाउँपालिकाका अध्यक्ष तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जसपाका नेता राजकिशोर यादवले जसरी हामीहरुले विभेदको विरुद्धमा आन्दोलन गर्यो त्यसरी नै अब स्थानीय प्रशासनले लगाउने गरेको झुठा मुद्दाहरुको विरोधमा पनि उत्रिनु परेको बताए ।

काठमाडौंमा बसेको हाकिमहरुको इसारामा नचल्न स्थानीय प्रशासनसँग आग्रह गर्दै उनले त्यस्तो गरिए अझ आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

कोण सभामा जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्राले स्थानीय प्रशासनले मटिहानी घटनामा सत्यतथ्य नै नबुझिकन दबाबमा आएर दमन गर्ने मनसायले मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलसहित उनका समर्थकहरु माथि मुद्दा दर्ता गर्ने कार्य गरेकाले तत्काल सो मुद्धा फिर्ता लिन माग गरे ।

यो भन्दा अगाडी मंगलबार साँझ जिल्लाको विभिन्न ठाउँमा यही घटनालाई लिएर मसाल जुलुस समेत प्रर्दशन गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ