काठमाडौं, २२ असोज । सरकारी नीतिअनुसार विद्यालयसरह मदरसाले सबै सुविधा नपाएको भन्दै मुस्लिम आयोगमा गुनासोसहितको ज्ञापनपत्र बुझाइएको छ ।
सरकारले मदरसा शिक्षालाई शिक्षाको मूलधारमा ल्याउने घोषणा गरेको थियो । मुस्लिम अगुवाहरुले निर्णय तत्काल कार्यान्वयन गराउन माग गर्दै मुस्लिम आयोग गुहारेका हुन् । मदरसा अर्गनाइजेसन अफ नेपालले मदरसा शिक्षा गति लिन नसकेको भन्दै मुस्लिम आयोग काठमाडौंमा ज्ञापनपत्र बुझाएका छन् ।
मदरसा अर्गनाइजेसन प्रदेश २ का अध्यक्ष शशिकपुर मियाँले मुस्लिम आयोगका अध्यक्ष महम्मद समिम मियाँ अन्सारीलाई बुझाएको ज्ञापनपत्रमार्फत मदरसामा नियमित रुपमा पाउँदै आएको प्राथमिक तहदेखि माविसम्म पाउने सुविधा धार्मिक अनुदान अनुमति प्राप्त रकम कट्टा भएकाले तत्कालै उपलब्ध गराउन माग गरेका छन् ।
यसैगरी मदरसा शिक्षालाई शिक्षाको मूलधारमा ल्याउन शिक्षा ऐन र नियमावलीमा प्रस्ट व्यवस्था हुनुपर्ने तथा इस्लामी शिक्षा प्रदान गर्न उर्दु,अरबीका विषयमा शिक्षकका रुपमा कार्य गर्ने मौलानाहरुको शैक्षिक प्रमाणपत्रको ‘समकक्षता’ संघीय सरकारले गर्नुपर्ने अर्गनाइजेसनको माग छ ।
अर्गनाइजेसनको ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष अन्सारीले सबै माग जायज भएकाले यथाशीघ्र कार्यान्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया