रुपन्देही, १३ कार्तिक । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युतको अधिकांश माग धानेको छ ।
मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट उत्पादित बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
निजी क्षेत्रबाट सञ्चालित ८.५ मेगावाटको मुलुककै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना पूरा भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो आयोजना रहेको बताइएको छ ।
७० करोड रुपियाँको लगानीमा रिडी हाइड्रोपावर कम्पनीले रूपन्देहीमा निर्माण गरेको यो आयोजना भैरहवा नजिकै अमुवा सबस्टेसनमा जोडिएको छ । जलविद्युत्मा लगानी गरेको कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा लगानी गरेको हो ।
आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा बैङ्क अफ काठमाडौँको अगुवाइमा सिटिजन्स र नेपाल बङ्गलादेश बैङ्कले ४९ करोड लगानी गरेका छन् ।
गत मङ्सिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर बन्दाबन्दीका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले पाँच महिना ढिलो गरी सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले जानकारी दिए ।
आयोजनाअन्तर्गत ३३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएका छन् । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ ।
इन्भर्टरबाट आएको विद्युत्लाई ८.५ एमबीएको ट्रान्सफर्मरले ३३ केभीमा कन्भर्ट गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबन्धक यतु रावतले बताए ।
तपाईको प्रतिक्रिया