सर्लाही, ८ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेशलाई अधिकार सम्पन्न हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सर्लाहीको मलङ्गवा नपा ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यीकरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो बताए ।
मुलुक सङ्घीयता गएपनि प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जालझेल भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता जालझेलहरु मधेशलाई अधिकार सम्पन्न हुनबाट रोक्न नसक्ने उदघोष गरे ।
सङ्घिय सरकारले बजेट बितरणमा विभेद गर्ने देखि प्रदेशले राख्न पाउनु पर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरि रहेको दावी गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार केही दिन भित्रै आफ्नो शासन प्रशासन कायम गरेर देखाउने बताए ।
प्रदेश सरकार आफ्नो सीमित स्रोत साधनलाई उपयोग गर्दै विकास निर्माणको कार्यलाई अगाडि बढाएको र पोखरीको सौन्दर्यीकरण त्यसकै एउटा सानो भाग रहेको उनको कथन थियो ।
कार्यक्रममा सङ्घीय सांसद महेन्द्र राय यादवले प्रदेश सरकारले सीमित स्रोत साधनबीच गरिरहेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले चालेको कदमहरुमा पार्टी र जनताको पूर्ण समर्थन रहेको विश्वास दिलाए ।
जनता समाजवादी पार्टीका शीर्ष नेता समेत रहेका यादवले राउत नेतृत्वको सरकार पाँच वर्ष नै रहने स्पष्ट पारे ।
प्रदेशसभा सदस्य अशोक यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङ्घीय सांसद प्रमोद साह, रुहिनाज मिकरानी, पूर्वमन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य मोहम्मद अबुल कलाम, मलङ्गवा नपाका मेयर लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
१२ बिग्घा क्षेत्रफल रहेको उक्त पोखरीको सौन्दर्यीकरण ८ करोडको लागतमा १५ महिनाभित्र सम्पन्न गरिने योजना रहेको छ ।
तपाईको प्रतिक्रिया