मन्त्री साहद्वारा हनुमाननगर नपामा विभिन्न योजनाको उद्घाटन

समाचार

9/18/2020

राजविराज, २ असोज । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीमा एकैदिन नेपाल–भारत मैत्रीद्वारसहित १२ वटा योजनाको उद्घाटन गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमै विहिबार आयोजित छुट्टा–छुट्टै समारोहमा मन्त्री साहले ती सबै आयोजनाको उद्घाटन गरेका हुन् ।

तराई मधेश समृद्वि कार्यक्रमअन्तर्गत प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालाय तथा मन्त्री साहको संसदीय विकास कोषको गरी झण्डै ५ करोड रकमको लागतमा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेश साहले जानकारी दिएका छन् ।

योजनाहरुमा तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवन र एक–एक सामुदायिक भवन, अतिथि घर, आयुर्वेद औषधालय भवन, बोटनी गार्डेन र धर्मशाला सहितका छन् ।

यस्तै भारतीय सिमासँंग जोडिएको रामपुरा मल्हिनयामा नेपाल–भारत मैत्रीद्वार तथा नगरको विभिन्न तीन स्थानमा स्व. गजेन्द्रनरायण सिंहको स्मारक स्थलको पनि उद्घाटन गरिएको छ ।

विकासको प्रचुर सम्भावना रहेर पनि प्रदेश २ निकै पछि परेको बास्तविकतालाई दृष्टीगत गरी प्रदेश २ सरकार विकासमा जोड दिँदै आएको मन्त्री साहले बताए ।

सो अवसरमा राष्ट्रिय सभा सदस्यद्वय शेखर सिंह, मृगेन्द्र कुमार सिंह यादव, पूर्व उपसभामुख गंगाराम यादव, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेस साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, जिल्ला स्वास्थ्य कार्यालायका प्रमुख दुनियालाल यावद सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ