महोत्तरीको छुट्टा छुट्टै स्थानमा दुर्घटना

समाचार

12/31/2020

महोत्तरी, १६ पुस । महोत्तरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको पिकअप भ्यानको ठक्करबाट घाइते भएकोमा उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा बाटोमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ठक्कर दिन पिकअप भ्यान प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएकोले खोजतलास भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै बर्दिबास नगरपालिका वडा नं. १० लक्ष्मीनियाँ चोक स्थित पुर्व पश्चिम लोकमार्गमा बर्दिबासबाट सर्लाही तर्फ जाँदै गरेको ना १ ह ३०७९ नम्बरको अटो आफै अनियन्त्रि भई दुर्घटना हुँदा चालक सहित पाँचजना घाइते भएको प्रवक्ता विष्टले जानकारी दिए ।

घाइते हुनेमा अटो चालक ५२ वर्षीय गोबिन्द रसाईली र अटोमा सवार रहेका लमजुङ बेसिसहर नगरपालिका वडा नं. २ का ३० वर्षीय पुष्कर अधिकारी, २८ वर्षीय सुमन अधिकारी, २१ वर्षीय सिमा अधिकारी, २८ वर्षीय मन्दिरा केसी रहेको र सबैको उपचार बर्दिबास स्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ