जलेश्वर, २२ माघ । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखन्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको सालिक चोरी भएको छ ।
मधेस आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका–११ का वीरेन्द्र विच्छा र वडा नम्बर–९ का राजेश ठाकुर दुवैजनाको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
वडा नम्बर–११ र वडा नम्बर–९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५÷७ फिट अग्लो बुर्जामाथि राखिएको दुवैजनाको प्रतिमा (सालिक) बिहीबार बिहान सो स्थानमा नरहेको वडा नम्बर–९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए ।
वडाध्यक्ष यादवले गए राति ११–१२ बजेसम्म सालिक चोकमै रहेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले सालिक चोरी गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहानैदेखि प्रहरी टोली परिचालन गरी सालिकको व्यापक रुपमा खोजतलास भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
तपाईको प्रतिक्रिया