सिरहा, २९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको वनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् ।
सिरहाको चोहर्वामा वनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताए ।
विगतमा विभिन्न जालझेल गरि अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमण मुक्त हुने आश्वासन समेत उनले दिए ।
अतिक्रमित जग्गा फिर्ता हुनु पर्ने मागसहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुगेका मुख्यमन्त्री राउतले सरोकारवाला निकायहरु प्रमुख जिल्ला अधिकारी, वनअधिकृत, मालपोतका प्रमुख, सुरक्षा प्रमुखहरुसँग जग्गाको अवस्था फिर्ता प्रक्रियाबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिँदै आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तैयार रहेको समेत बताए ।
उनले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिएका छन् ।
सिरहाको गोलबजारमा पछिल्लो साता मात्र वनको २ विघा ९ कट्ठा जग्गा फिर्ता गराइएको हो ।
तपाईको प्रतिक्रिया