काठमाडौं, २३ असोज । सांसद हरिनारायण रौनियारको निलम्बित पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । रौनियार विवादास्पद पप्पु कन्ट्रक्सनका मालिकसमेत हुन् ।
सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट निर्वाचित भएका थिए । सर्वोच्चले रौनियारको पद निलम्बनमा राख्नुको कारण भने पेश गर्न सरकार र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
श्रेष्ठको इजलासले उनले दिएको निवेदन अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ। दुई वर्षअघि आयोगले पप्पु कन्ट्रक्सन र त्यसका मालिक रौनियार, उनका छोरा समितसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा लागेपछि स्वत सार्वजनिक पद निलम्बिन हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको पद निलम्बनमा परेको जानकारी आयोगले संसद सचिवालयलाई गराएको थियो ।
तपाईको प्रतिक्रिया