काठमाडौँ, ७ भाद्र । जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ ।
रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको हो । तर सबै कर्मचारी करारमा राखिनेछ ।
नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । दुई देशका अधिकारीबीच भएको अनलाइन बैठकमा रेल चालक र प्राविधिक माग गरिएको हो ।
‘भारतीय पक्ष पनि छिटो रेल चलाउनुपर्छ भन्नेमा छ, उनीहरूले सहयोग गर्न तयार छौं भनेका छन्,’ उनले भने, भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १र१ जना ल्याइनेछ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३÷३ जना ल्याइनेछ । भदौ ३० गते दुवै रेल सेट ल्याउने तयारी भएको छ ।
अहिले रेल सेट पटना नजिकै हाजिपुरमा राखिएको छ । रेल सेट खरिदका लागि सरकारले ८४ करोड ६५ लाख बजेट छुट्याएको थियो । यसमध्ये २० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ । ८० प्रतिशत भुक्तानी भने रेल ल्याएर परीक्षण गरेपछि मात्र गरिनेछ ।
तपाईको प्रतिक्रिया