वीरगञ्ज, ११ पुस । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनु आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको लैङ्गिक हिंसा न्यूनीकरण एवम् पीडित सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको र उक्त अभियानले लैङ्गिक हिंसा न्यूनीकरणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
महिलाहरुको सशक्तिकरणका लागि प्रदेश सरकारले शिक्षाका साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि प्रहरी लगायत निजामती सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनको कथन थियो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितहरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिने समेत बताए ।
कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य प्रदिप यादव, प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल, वीरगंज महानगरका प्रमुख विजय सरावगी सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्थाबारे प्रस्तुति गरेका थिए ।
तपाईको प्रतिक्रिया