वीरगञ्ज, १३ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनिकरण एवं पीडित सहायतामा एकीकृत प्रयासको अपरिहार्यता’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले ‘बेटी पढाउ , बेटी बचाउ’ अभियान सञ्चालन गरेको र उक्त अभियानले लैङ्गिक हिंसा न्यूनिकरणमा मद्दत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
महिलाहरुको सशक्तिकरणका लागि प्रदेश सरकारले शिक्षाका साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि प्रहरी लगायत निजामती सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए ।
लैङ्गिक हिंसा न्यूनिकरण तथा पीडितहरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिनेसमेत मुख्यमन्त्री राउतको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य प्रदिप यादव , प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल , वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीसहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था प्रस्तुत गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया