नेपालगन्ज, १० मंसिर । जनता समाजबादी पार्टी नेपाल बाँँकेका नेता मोहम्मद कमरुद्दीन राईले विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयलाई मास्क र सेजिटाइजर प्रदान गरेका छन् ।
बाँकेमा विद्यालयहरु केही दिनभित्रै सञ्चालन हुन लागेकोले विद्यालयमा आउने विपन्न बालबालिकालाई लक्षित गरेर जानकी गाउँपालिका ३ बन्जारे गाउँमा रहेको माध्यामिक विद्यालयलाई ३५० थान मास्क र ३ बोतल सेनिटाइजर प्रदान गरिएको जनता समाजवादी पार्टीका नेता राईले बताए ।
उनले सो विद्यालयमा अधिकांश विपन्न परिवारका बालबालिकाहरु अध्ययन गरिरहेको जनाउँदै उनिहरुलाई कोरोनाबाट जोगाउन सहयोग पुर्याउने उद्देश्यले मास्क र सेनिटाइजर प्रदान गरिएको बताएका हुन् ।
राईद्धारा प्रदान गरिएको सो मास्क र सेनिटाइजर बुझ्दै बन्जारे गाउँ माविका प्रधानाध्यापक आदित्य बर्माले सो सहयोगले कोभिड १९ विरुद्धको लडाईमा विद्यार्थीहरुलाई सहयोग पुग्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा सहज हुने बताए ।
उनले गरिब तथा विपन्नले मास्क र सेनिटाइजर खरिद गर्न नसक्ने भएकोले उनीहरुलाई मास्क वितरण गरिने र सेनिटाइजर विद्यालयमा प्रयोग गरिने जानकारी गराए ।
मास्क र सेनिटाइजर पाएपछि विद्यालय सञ्चालन गर्न सजिलो हुने जनाउँदै प्रधानाध्यापक वर्माले नेता राईलाई सो अवसरमा धन्यवाद पनि दिए ।
बाँके जिल्लामा गत आठ महिनादेखि बन्द रहेका विद्यालयहरु यसै साताबाट पुनः सञ्चालनमा आउने तयारीमा छन् । विद्यालय सञ्चालनका लागि सबै स्थानीय तहले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेका छन् ।
सोही सुरक्षा मापदण्डलाई पुरा गरेमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले सबै विद्यालयलाई सुरक्षा मापदण्ड पालना अनिवार्य रुपमा गर्न निर्देशन दिइएको बताए ।
तपाईको प्रतिक्रिया