वन अतिक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

समाचार

12/29/2020

जनकपुरधाम, १४ पुस । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वन अतिक्रमणमा संलग्नहरुलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मंगलबार बर्दीवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्न बहानामा भइरहेको वनअतिक्रमणलाई तत्काल रोक्न एवं अतिक्रमणमा संलग्नहरुलाई कारबाई गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

सुकुम्वासीको नाउँमा राजनीति संरक्षण प्राप्त हुकुमवासीहरु वन अतिक्रमण एवं फडानीमा अग्र पक्तिमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले वनको रक्षा गर्न जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्तिहरुलाई किन्तु परन्तु गर्ने ठाउँ नरहेको बताए ।

उनले भने, ‘राजनीतिक संरक्षण प्राप्त भू माफियाहरु वन अतिक्रमण गर्दै आएका छन् । त्यस्तालाई अविलम्ब कानूनको परिधिमा ल्याएर हदैसम्मको कारबाही गर्न यसै मञ्चबाट निर्देशन दिन्छु ।’

बर्दीवासमा पछिल्लो समयमा भएको वन फडानीको विषय उल्लेख गर्दै मुख्यमन्त्री राउतले उक्त घटना बारे अविलम्ब छानविन गर्न वन सचिवलाई निर्देशन दिए ।

कार्यक्रममा सिरहा र रौतटह जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

पछिल्लो समयमा व्यक्तिको नाउँमा गैसकेको सिरहा चोहर्वाको तीन विग्घा र रौतहटको गुजरा नपमा १२० विग्घा जग्गा पुनः वनको नाउँमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ