वीरगञ्ज, १५ मंसिर । वीरगञ्ज–रक्सौल नाका खोल्न दमाग गर्दै वीरगञ्जमो धर्ना जारी रहेको छ । तीन दिनदेखि नेपाल–भारत खुला सीमा संवाद समूहले बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।
जनता समाजवादी पार्टी (जसपा) की केन्द्रिय सदस्य रम्भा मिश्र नाकामा आवत जावत सहज नहुँदा नागरिकले दुःख पाइरहेको बताउँछिन् ।
वीरगञ्ज र वरपरका क्षेत्रमा विवाहको सिजनमा सीमावर्ती रक्सौलबाट नै लत्ता कपडालगायतका विवाहको समान किनमेल गर्ने गरिन्छ । दैनिक उपभोग्य वस्तु पनि उतैबाट ल्याइन्छ । ‘हरेक समान रक्सौलमा ३०÷४० प्रतिशत सस्तोमा पाइन्छ’ रम्भा भन्छिन्, ‘मानिसहरू साइडबाट आउजाउ गरिरहेका छन् त, त्यताबाट आउजाउ गर्दा कोरोना लागिरहेको छैन, नाकाबाट आउजाउ गर्दा मात्रै कोरोना आउँछ र ?’
उनले गाडी आवतजावत गर्दा मालसमान र अन्य कामका लागि आउजाउ गर्न सहज हुने भएकाले पूर्ववत अवस्थामा नाका सञ्चालन गर्नुपर्ने बताइन् ।
जसपाकै युवा नेता ओमप्रकाश सर्राफले लामो समय नाका बन्द हुँदा सीमाञ्चलको सम्बन्ध, जनता जनताबीचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको बताए ।
भिजिट मधेस नेपालका अध्यक्ष समेत रहेका उनले देशकै मुख्य नाका बन्द हुँदा नेपालको पर्यटनमा समेत असर परेको दावी गरे । नेपालमा आउने ७० प्रतिशत पर्यटक भारतबाट नै आउने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया