वीरगन्ज, ३ मंसिर । मधेशी समुदायको सबैभन्दा ठूलो र महान पर्व छठको तयारी उत्साहका साथ सुरु भएको छ ।
दीपावलीसँगै हुने गोवर्द्धन पूजापछि भोजपुरी संस्कृति अनुसार गोधन कुटेर त्यहाँबाट ल्याएको केराउ (भोजपुरी भाषामा बजडी) बहिनीहरुले भाईलाई खुवाएसँगै छठको तयारी सुरु भएको हो ।
विगतका वर्षहरुझैँ कोरोना भाइरस महामारीका कारण छठ पर्वको उत्साह अलि कम देखिए पनि विधिवत् रुपमा मधेशको मुख्य शहर वीरगञ्जसहित देशका अन्य स्थानमा छठको तयारी सुरु भएको छ ।
यसरी मनाइन्छ छठ पर्व
छठमा चढाइने ठेकुवा, पुडुकिया, पुरी र खाजा मिठाईलगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धता हुनुपर्ने हुँदा चुल्हो नै नयाँ बनाएर पकाउने पनि गरिन्छ ।
ब्रतालुहरुले आज नजिकैको जलाशय वा घरमा नै नुहाइ चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ ।
पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन बिहिबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी, केरा र मुला राखी मौन पुजा गर्छन् ।
स्थानीयले यसलाई खरना वा रसिआओ रोटी भन्छन् । छठकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुलोमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पूजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् ।
परिवारजन, छरछिमेक एवम् पाहुनालाई समेत बाँडछन् । लोक आस्थाको यो पर्वको तेस्रो दिन शुक्रबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशः ठेकुवा, पुरी एवम् पुडुकिया बनाउँछन् ।
यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् ।
प्रसाद एवम् पूजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवम् जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, पुडुकिया, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवम् तरकारी राखिन्छ ।
घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकी (दउरा) मा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवम् अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार गई पुजा अर्चना गर्ने गरिन्छ ।
नदि किनार वा घाटलाई पनि केराको बोट, दियो एवम् बत्तीले घाटलाई झकिझकाउ पारिएको हुन्छ । पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनः फिजाएर राखिन्छ ।
नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन । सहयोगी एवम् परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै अर्घय दिन्छन्। यो विधिको समापनपछि कतिपय ब्रतालु एवम् परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन् ।
यसलाई सझिया (साँझको) घाट वा सझिया अर्घय भनिन्छ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवम् विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ । त्यसपछी छठ घाट वा घरमा कोशी पूजाको आयोजना गरिन्छ ।
कोशी पूजा प्रत्येक बर्तालुले गर्नुपर्दैन । भाकल गरेको बर्तालु कोशी पूजा गर्छन जहाँ छठ मान्ने अन्य बर्तालुहरुपनि आएर छठको गित गाउँछन् । कोशी पूजाको लागि उखुलाई एकआपसमा बाँधेर गोलो आकार बनाइन्छ र त्यसको छेउमा दियो बाल्ने गरिन्छ ।
चौंथो तथा अन्तिम दिन शनिबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित त्यसमाथिबाट दूधरजलको अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ ।
यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ । यसपछि छठको लोक कथाको वाचन हुन्छ । समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लाउँछन् ।
ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन् ।
तपाईको प्रतिक्रिया