विराटनगर, ९ जेठ । प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि कोभिड अस्पताल (कोभिड–१९ युनिट) सञ्चालनमा ल्याएको छ ।
दैनिक कोरोना संक्रमितको संख्या बढेर उपचार असहज बनिरहेका बेला कोभिड अस्पताल सञ्चालनमा ल्याएर उपचारलाई सहज बनाएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार संघीय सरकारको लगानीमा बनेको कोभिड युनिट ६२ बेडको छ ।
‘महामारीका समयमा संक्रमितले सहज उपचार पाउन नसकेर अवस्था जर्जर बनिरहेको छ,’ बुढाथोकीले भने, ‘संक्रमितलाई लक्षित गरेर नयाँ उपचार केन्द्र सञ्चालन गरिएपछि बेड अभावको समस्या केही मात्रामा समाधान हुने अपेक्षा गरिएको छ ।’ महामारी सुरु भएपछि कोसीमा पहिलो पटक कोभिड केयर युनिट सञ्चालन गरेर संक्रमितको उपचार थालिएको उनको भनाइ छ ।
युनिटमा पाँचवटा भेन्टिलेटर, २४ वटा आइसियू र बाँकी अक्सिजनसहितका बेड छन् । बिहीबारबाट सञ्चालनमा आएको युनिटमा गम्भीर प्रकृतिका छजना संक्रमित भर्ना गरिएको छ । जसमा तीनजना आइसीयू र तीनजना एचडीयूमा उपचाररत छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार यसअघि अस्पतालमा १० बेडको आइसोलेसन मात्रै थियो । कोसीको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका संक्रमितलाई उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र पठाउने गरिएको दासको भनाइ छ । उपचार केन्द्र प्रदेश १ सरकारले सञ्चालन गरेको हो ।
अब भने रिपोर्ट पोजिटिभ आएका बिरामीलाई आफ्नै कोभिड केयर युनिटमा राखेर उपचार गर्न सकिने अवस्था बनेको डा. दासको भनाइ छ । सबैतिर बेड अभावको समस्या भोग्नु परिरहेका बेला अब अवस्था केही सहज बन्ने अपेक्षा गरिएको उनले बताए ।
अस्पताललाई काठमाडौंस्थित सोहनलाल रामपियारीदेवि काजलीवाल फाउण्डेसनका तर्फबाट अध्यक्ष शंकरलाल अग्रवालले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको जानकारी दासले दिए ।
युनिटको संयोजकमा डा. दिनेश न्यौपाने, क्रिटिकल केयरमा डा. प्रवीन झा, व्यवस्थापनमा डा. सुधीर श्रेष्ठ र फोकल पर्सनमा गजेन्द्र यादव रहेका छन् । युनिटमा १८ जना पारामेडिक्स, २१ जना नर्स, १९ जना चिकित्सक र १३ जना कार्यालय सहयोगी खटाइएको छ ।
प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पनि कोसी अस्पतालबाटै जनशक्ति परिचालन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित बढेर बेडको चरम अभाव भइरहेका बेला कोभिड केयर युनिट सञ्चालनले केही राहत पुग्ने बताए । युनिटमा गम्भीर अवस्थाका संक्रमितले पनि उपचार पाउने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया