शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

समाचार

12/9/2020

ललितपुर, २४ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सहकारी संघ संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षामा आमूल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा अन्तर्गत बुधवार सम्पन्न प्रदेश २ को एकाइ सभामा बोल्दै उनले त्यस्तो बताएका हुन् । सीमित श्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उनले प्रदेश न.ं २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताए ।

समृद्धिका लागि केही प्रक्रिया समेतमा त्रुटी देखिएको बताउँदै उनले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशब प्रसाद बडालले बहुआयामिक गरिबी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

आर्थिक तथा सामाजिक रुपमा रहेको गरिबी कम गर्न सहकारीको भूमिका प्रभावकारी गराउन आवश्यक रहेको समेत उनले बताएका थिए । प्रदेश २ का जनताको जीवन स्तरमा सुधार ल्याउन समेत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा सहकारीहरुको भूमिका हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक ध्रुब नारायण यादवको सञ्चालन र सञ्चालक तथा २ नं. प्रदेश संयोजक विश्वनाथ मण्डलको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गरेकी थिइन् ।

हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ