काठमाडौँ, १० मंसिर । भारतले बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन निकै नै महत्वपूर्ण हुने जनाएको छ ।
भारतको विदेश मन्त्रालयले सचिव श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दै भनेको छ,‘भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्त्वपूर्ण हुनेछ ।’
‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नु हुनेछ ।’
विदेश मन्त्रालयले नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको उल्लेख गर्दै हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको दाबी गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने सचिव श्रृंखलाको उक्त भ्रमण नियमित रहेको जनाएको छ । ‘उनीहरु बीचमा द्धीपक्षीय सहकार्य र विभिन्न विषयमा वार्ता हुने छन्,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा भनिएको छ । नेपालसँग भारतले सीमा समस्या समाधानको विषयमा हालसम्म वार्ता गर्न चाहेको छैन । उक्त भ्रमणमा सीमा विवाद सम्बन्धमा वार्ता हुन्छ वा हुन्न भन्ने बारेमा कुनै पनि उल्लेख गरिएको छैन ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव श्रृंगलाले भ्रमणकै दौरान नेपाललाई कोभिड–१९ सम्बन्धी सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया