काठमाडौं, २ पुस । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलले किसानको खातामा शुक्रबारदेखि बक्यौता रकम जम्मा गर्ने भएको छ ।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् । अग्रवालले श्रीराम सुगर मिलले १–२ दिनभित्र सबै बक्यौता तिरिसक्ने प्रतिबद्धता जनाए । कम्पनीले कुनै स्रोतबाट रकमको व्यवस्था गरिसकेको र चेक काट्न पनि थालेकोे उनले बताए ।
अग्रवालले किसानलाई रकम भुक्तान गर्न ढिलाइ हुनु किसानमाथि अत्याचार भएको पनि बताए । एउटाले गर्दा सबै चिनी उद्योगको बदनाम भएको पनि उनले बताए ।
किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले शुक्रबारदेखि नै किसानको खातामा पठाउन थाल्ने अग्रवालले बताए । श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले १ वर्षमा ७५ करोड बक्यौता भुक्तानी भएको बताए ।
२०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको उनले समितिलाई जानकारी गराए । उनले किसानलाई बक्यौता दिन बाँकी रहेको अन्नपूर्ण र इन्दिरा सुगर मिल्सलाई विद्युतको पैसा नदिन भनिएको पनि बताए ।
तपाईको प्रतिक्रिया