जनकपुरधाम, २५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
जसपा निकट युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उल्लेख गरे ।
मुलुक कोरोना महामारीको संकट झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्ने सरकार त्यसबाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको बताए ।
जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्दै उनले आफूहरु सरकारविरुद्ध सबै मोर्चामा लड्ने उल्लेख गरेका छन् ।
आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षित र सक्षम युृवाहरुलाई नेतृत्व गर्ने समय आइसकेको उल्लेख गरे ।
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढ्न आग्रह समेत गरेका छन् ।
समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रीय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब तीन सय युवाहरुलाई प्रमुख अतिथि यादवले पार्टीमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया