काठमाडौं, १९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा स्थायी समिति सदस्य मातृका प्रसाद यादवले अब उपरान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको भर्त्सना गरेका छन् ।
सांसद यादवले बुधबार एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको भर्त्सना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सम्पूर्ण परिवर्तनकारीहरुसँग अपिल गरेका छन् ।
‘गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएको’ यादवले विज्ञप्तिमा भनेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सवै परिवतनकारीहरूसंग हार्दिक अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसंग माग गर्दछु ।’
तपाईको प्रतिक्रिया