सप्तरीको कञ्चनरुपमा २४ घण्टे आकस्मिक सेवा

समाचार

11/6/2020

राजविराज, २१ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सुरु भएको छ । कञ्चनरुप नगरपालिका(८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै २४ सै घण्टाका लागि आकस्मिक सेवा सुरु गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बीच नगर प्रमुख बसन्तकुमार मिश्रले सो सेवाको औपचारिक रूपमा उद्घाटन गरे । थप दुई वटा एम्बुलेन्सका लागि रकम समेत बुझाइ सकिएको जानकारी दिदै मिश्रले आगामी दिनमा ट्रमा सेन्टर, शल्यक्रियाद्वारा सुत्केरी र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको बताए । स्वास्थ्य क्षेत्रका लागि संघीय र प्रदेश सरकारको मुख ताक्नु नपर्ने भन्दै नगर प्रमुख मिश्रले प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक अभाव हुन नदिने प्रतिबद्धता गरे ।

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनका लागि वर्षेनी ५० लाख रकम विनियोजन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताए ।

खडकाका अनुसार स्वास्थ्य उपचारका लागि कञ्चनरुपसहित आसपासको सप्तकोशी नगरपालिका, अग्नीसाइर कृष्णसवरन, तिरहुत र महादेवा गाउँपालिकाबाट समेत बिरामीहरु आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीहरुले अब जुनसुकै समयमा पनि उपचार गर्न पाउने जानकारी दिए । हाल केन्द्रमा रहेका दुई जना एमबिबिएस डाक्टर, १÷१ जना डेन्टल सर्जन र रेडियोग्राफर, दुई जना स्टाफ नर्स, सात जना हेल्थ असिस्टेण्ट, २÷२ जना सिअहेव र अहेव, चार जना अनमी तथा १÷१ जना ल्याब टेक्निसियन र ल्याब असिस्टेण्टले बिरामीलाई दिन रात २४ सै घण्टा सेवा दिने छन् । यसअघि २४ घण्टे आकस्मिक सेवा नहुँदा रातिको समयमा आउने बिरामीहरुलाई अन्यत्रै पठाउने गरेको भएपनि अब भने २४ सै घण्टा सेवा उपलब्ध भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ