सप्तरी र सिरहाका शक्तिपीठ तथा मन्दिरहरुमा निषेधाज्ञा

समाचार

10/18/2020

सिरहा, २ कात्तिक । कोरोना महामारीलाई मध्यनजर गर्दै सप्तरी र सिरहाका स्थानीय प्रशासनहरुले शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरी र सिरहाले आ–आफ्नो जिल्लामा दशैँमा शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेका हुन् ।

गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्ला सुरक्षा समितिको आजको बैठकको निर्णय अनुसार सप्तरी जिल्लास्थित सम्पूर्ण शक्तिपीठ एवं मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए ।

शनिबार राति ११ बजेदेखि लागू हुनेगरी कार्तिक ७ गते राति साढे ११ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा नित्य पूजापाठ बाहेक अन्य सम्पूर्ण गतिविधिमा रोक लगाइएको छ । यस अवधिमा कोरोनालाई दृष्टिगत गर्दै आ–आफ्नो घरमै परम्परा अनुसार आगामी चाडपर्वहरु मनाउन प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले घटस्थापनादेखि नवमीसम्म निषेधाज्ञा जारी गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जानकारी दिए । यस अवधिमा नित्य पूजापाठ बाहेक अन्य प्रकारको भिडभाड तथा दर्शनको लागि शक्तिपीठ तथा मन्दिरहरुमा निषेधाज्ञा जारी गरेको छ ।


त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गृहबाट परिपत्र आएको र दशैँमा हुने भिडभाडलाई लिएर आइतबार निर्णय गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ