सुपथ मूल्य पसलबाट कैलालीका उपभोक्ता खुसी

समाचार

10/5/2020

काठमाडौं, १९ असोज । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन् ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री बिक्री(वितरण भइरहेका छन् । पसलमा चिनी प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ रुपैयाँ निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरिएको छ । सुपथमूल्य पसलबाट उपभोक्ताले सामान किन्‍ने मात्रै नभएर बेच्‍ने पनि गरेको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय धनगढीका नायब महाप्रबन्धक, केशवप्रसाद पाण्डेले बताए ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलमा माल(समानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन ।

विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायललगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो । यो वर्ष भने अनलाइन बिलिङ सिस्टम भएपछि अन्य स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ