काठमाडौं, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक नयाँदिल्लीमा शु्क्रबार सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको बैठक बसेको हो ।
बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको छ ।
त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा भएको छ ।
परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमा समस्या समाधान, पञ्चेश्वर परियोजना, इपिजीको प्रतिवेदन, कोरोना खोपलगायतका विषयमा छलफल भएको नेपाली अधिकारीले जानकारी दिए ।
ती अधिकारीकाअनुसार नेपालले सीमाका बाँकी समस्याको समाधान गर्नुपर्ने विषय बैठकमा उठाएकोछ । त्यसको प्रत्युतरमा भारतले राजनीतिक तहबाट सीमा विवादको समाधान खोज्नु पर्ने जवाफ दिएको छ ।
बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागीता रहेको थियो ।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सीमालगायत विषयमा कुराकानी भएको जानकारी दिए । उनले भने,‘सीमा, ऊर्जा, खोपलगायतका विषयमा कुराकानी भएको छ ।’
सीमा समस्या समाधानबारे नेपालले कुरा उठाएको आचार्यले स्पष्ट पारे । समस्या समाधान हुनुपर्छ भन्ने नेपालको प्रस्तावमा भारतले बाँकी समस्याको समाधान प्राविधिक तहबाट नभई राजनीतिक तहमा छलफल गरेर जानुपर्ने जवाफ दिएको राजदूत आचार्यले बताए ।
भारत कोरोना भाइरसको खोप नेपाललाई प्रदान गर्न सकारात्मक भएको उनको भनाई थियो । खोप अनुदान वा सुपथ मूल्य दुवैमा दिन भारत सकारात्मक भएको आचार्यले बताए ।
बैठकको सुरुमा भारतीय विदेशमन्त्री एस जयंशकरले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए ।
उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका थिए । साथै उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि यो बैठकको प्रमुख उद्देश्य भएको बताए ।
त्यसपछि आफ्नो सम्बोधामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरे । नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताए ।
‘दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले दुई देशको सम्बन्धलाई गतिशीलताको नयाँ आयाम थपेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
यसैबीच मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।
त्यसअघि ज्ञवाली र जयशंकरसँग हैदरबाद हाउसमै भेट करिब एक घण्टा वान टु वान भेट भएको थियो । भेटमा परराष्ट्र सचिव भरतराज पौडेल, भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंला, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थित थिए ।
उक्त भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल बताइए पनि त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
तपाईको प्रतिक्रिया