काठमाडौं, ८ भाद्र । नेपाली सेनाले सीमा अनुगमन, व्यवस्थापन तथा रक्षाका लागि छुट्टै निर्देशनालय गठन गरेको छ । मन्त्रिपरिषद्को स्वीकृतिसँगै जंगी अड्डाले सीमासम्बन्धी सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरेको हो ।
यससँगै सीमासम्बन्धी वार्ता र छलफलका क्रममा सरकारले गठन गरेको संयन्त्रमा नेपाली सेनाको अनिवार्य प्रतिनिधित्व रहने सैनिक स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई निर्देशनालय गठन गर्न स्वीकृति दिएको थियो । निर्देशनालयले सीमा अनुगमन तथा समन्वय र सन्धिसम्झौता अध्ययन तथा अनुसन्धानका लागि दुई संयन्त्रमार्फत काम सुरु गरेको छ ।
सीमा रक्षामा नेपाली सेनाको भूमिका के भनी नागरिकले प्रश्न उठाइरहेका बेला सरकारले सर्भे तथा सीमा अनुगमनजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा कार्यान्वयनमा ल्याएपछि सरकारले सेनालाई सीमा व्यवस्थापन, सुरक्षा र अनुगमनका लागि निर्देशनालय गठन गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को निर्णयसँगै जंगी अड्डा निर्देशनालयलाई चलायमान बनाउन गृहकार्यमा जुटेको छ ।
निर्देशनालयले सीमा क्षेत्रको निगरानी, सूचना संकलन र सीमासम्वन्धी प्राप्त भएका सूचनाहरूको विश्लेषण गर्नेछ । सीमासम्बन्धी संवेदनशील सूचना विश्लेषण गरी निर्देशनालयले सोहीबमोजिम रणनीति तय गर्नेछ ।
तपाईको प्रतिक्रिया