काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा)ले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ । जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।
लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठकर हुँदै गएको जसपाको भनाइ छ ।
यस्तै जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा पनि गम्भीर समस्या भएको जसपाले जनाएको छ ।
जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सो पार्टीले सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र ओषधी आदिलाई उचित एवं आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ । विगत नौ महिनादेखि सीमा नाका बन्द रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया