सीमा नाका बन्दको असर राजश्वमा

समाचार

12/29/2020

वीरगञ्ज, १४ पुस । कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ ।

सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र रु ६५ अर्ब २५ करोड ५५ लाख राजश्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले सो अवधिमा रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ ।

देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको हो ।

भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, “भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।’’

कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ