सीमा विवाद र खोपलाई प्राथमिकता दिन विज्ञको सुझाव

समाचार

1/14/2021

काठमाडौं, १ माघ । विज्ञहरूले सीमा विवाद र कोभिड–१९ खोपलाई प्राथमिकता दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सुझाव दिएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड अध्यक्षसमेत रहेका मन्त्री ज्ञवालीले बोर्डमा रहेका विभिन्न क्षेत्रका विज्ञ सदस्यहरूसँग आफ्नो भारत भ्रमणको पूर्वतयारीका क्रममा छलफल गरेका थिए  ।

छलफलमा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक मीना वैद्य मल्ल, पूर्वराजदूत तथा अर्थविद् शंकर शर्मा, परराष्ट्र मामिलाविज्ञ खड्ग केसी, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रपतिका सल्लाहकार लालबाबु यादव, अवकाशप्राप्त उपरथी तथा सुरक्षा मामिला विज्ञ हिमालय थापा, प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठ र प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाले मन्त्री ज्ञवालीलाई सुझाव दिएका थिए ।

सबैभन्दा पहिला नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले नक्सामा समेटिएको भूभाग फिर्ता नगरेको अवस्थामा सीमा विवादलाई प्राथमिकतामा राखेर वार्ता गर्न पनि विज्ञले सुझाव दिए । दुई मुलुकबीच विश्वासको वातावरण बनाउँदै सीमा समस्यालाई कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

परराष्ट्र मामिला विज्ञ केसीले मुलुकभित्र राजनीति ब्रिगेका बेला सीमा विवादलाई प्राथमिकतामा राखेर हुने वार्तामा कुनै कमजोरी नहोस् भन्ने सुझाव दिएको जानकारी दिए । विज्ञहरूले भारतसँग कोभिड–१९ को खोप अनुदानभन्दा पनि किनेरै ल्याउनका लागि सुझाव दिए ।

पूर्वराजदूत तथा अर्थविद् शंकर शर्माले खोप पैसा तिरेर नल्याए नेपाल भित्रिन ढिलो हुने बताएका थिए । विज्ञहरूले नेपालमा अहिले आन्तरिक राजनीतिक बिग्रेका बेलामा वार्ता गर्दा नेपालको आत्मविश्वासमा कमी हुन सक्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ