काठमाडौं, ८ असोज । सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन् ।
पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई प्राथमिकतामा नराखेको भारतले पछिल्लो समय कोभिड–१९ को संकटसँगै यसमा सक्रिय हुन थालेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरे ।
यसअघि सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्री पनि यो भर्चुअल बैठकमा सहभागी हुने अपेक्षा नेपालले गरेको थियो । सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् ।
बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने करिब पक्का भएको छ । यसअघि सार्कका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक बसेको थियो ।
बैठकमा पाकिस्तानका विशेष सल्लाहकार मोइद युसुफले पाकिस्तान सरकारले जारी गरेको नयाँ नक्सा देखाएपछि भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बैठक छोडेर हिँडेका थिए । यो घटना बाबजुद सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भारत–पाकिस्तानका मन्त्रीहरुको पनि भेट हुने पक्का भएको छ ।
तपाईको प्रतिक्रिया