काठमाडौं, १२ भाद्र । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय अनौपचारिक बैठकमा सहभागिता जनाउने भएको छ ।
मन्त्रिपरिषद्को भदौ ९ मा बसेको बैठकले उक्त निर्णय गरेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हालसम्म उक्त बैठकको मिति भने तय भइसकेको छैन ।
सबै मुलुकहरूसँग सहकार्य गरेर बैंठकको मिति तय गर्ने सार्कको परम्परा छ । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र पनि हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले सार्क राष्ट्रका परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय ‘भर्चुअल’ बैठक आयोजना गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधिमण्डल गठन गरिएको जानकारी दिए ।
न्युयोर्कमा हरेक वर्ष हुँदै आएको संयुक्त राष्ट्रसंघको महासभा यसपटक कोभिड–१९ का कारण भर्चुअल हुने सम्भावना छ ।
महासभाकै साइडलाइन वार्ताका रुपमा सार्क मुलुकहरू नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानबीच यस क्षेत्रको आपसी विकास र समृद्धिको बारेमा कुराकानी हुने परराष्ट्र स्रोतले बतायो ।
कोभिड–१९, यसका असर र सार्क मुलुकहरूबीच संकटमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुन सक्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया