जनकपुरधाम, १५ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले जिल्लाहरुमा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।
महामारी नियन्त्रणको लागि आवश्यक सल्लाह सुझाव लिन सिरहाको लहानमा आयोजित सिरहा र सप्तरीका सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राउतले भने,‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्री सहितका आवश्यक रकम समेत पठाई सकेको छ, अगामी दिनमा समेत कुनै कमी हुन दिइने छैन ।’
उनले विगतमा पठाइएको रकमहरु जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेका कारण समस्याहरुको देखिएको हुँदा अगामी दिनमा त्यसो नगर्न आग्रह गरे । उनले सबै जिल्लामा पीसीआर ल्याब सहितको अन्य सुविधाहरु एक महिना भित्रै परिपूर्ति हुने आश्वासन समेत दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परीक्षण र उपचारका साथै जनचेतना फैलाउनु समेत आवश्यक रहेको उल्लेख गरे ।
महामारी नियन्त्रणका लागि पर्सा, बारा, रौतहट र सर्लाहीका सरोकारबलाहरुसँग यस अघि नै सुझाव लिई सकिएको छ भने धनुषा र महोत्तरीका सरोकारबालाहरुसँग मंगलवार सुझाव लिने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया