सिरहा, २८ भाद्र । सिरहा जिल्लामा असोज १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रण तथा रोकथामका लागि असोज १० गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।
जिल्लामा कोभिड १९ संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा पालनाका लागि जिल्लाका १७ वटै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य संघरसंस्था तथा सामाजिक संघरसंस्थालाई अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस अघिको भन्दा निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
हाटबजार, विद्यालय, सभा, जुलुस, जिमखाना, सभागोष्ठी जस्ता मानिस भिडभाड हुने खालका कार्यमा बन्देज लागाएको भए पनि निजी तथा भाडाका जिप, कार, भ्यानजस्ता सवारी साधनमा अनिवार्य रुपमा मास्क लगाई दूरी कायम गरी यात्रा गर्न पाइनेछ ।
यसअघि चारपांग्रे, अतिआवश्यक खाद्यान्न, औषधि, इन्धन, दूध लगायतका सवारी साधन चलेको भए पनि निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । यस पटक भने सार्वजनिक सवारी साधनले पनि सुरक्षा सतर्कता अपनाएर जिल्लाभरी चलाउन पाउने भएका छन् ।
तपाईको प्रतिक्रिया