संविधानको ठाउँ ठाउँमा विरोध

समाचार

9/20/2020

वीरगञ्ज, ४ असोज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो ।

जसपाले संविधान संशोधनको माग गर्दै आएको छ तर सरकारले सुनुवाई गरेको छैन । कतिपयले संविधानको मर्मलाई स्वीकार गरेर चुनावमा सहभागी भएको, संघीय सरकारमा गएको, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरिरहेका छन् ।

जसपा नेता लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, दलित, महिला लगायत बहिस्कृत समुदायको अधिकार संविधानमा नसमेटिएको बताए ।
यस्तै, संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । संविधानले मधेसी समुदायको हकअधिकार सुनिश्चित नगरेको भन्दै समाजवादी पाटीका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले असोज ३ गतेलाई ’कालो दिवस’ को संज्ञा दिएका छन् ।

परासीको हाटबजारबाट निकालेको विरोध ¥याली जिल्ला प्रशासन कार्यालयको गेट हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।
यता, प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले संविधान दिवसलाई ‘कालो दिवस’ का रूपमा मनाएका छन् । कालो पहिरन र कालो फेटा बाँधेर मन्त्री सोनल प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा ‘कालो दिवस’ कार्यक्रममा सहभागी भएका थिए ।
उनले कालो दिवसको जुलुसमा मात्र सहभागी भएनन्। करिब ५ मिनेटको आफ्नो मनतव्यमा यो संविधानलाई कालो संविधान भन्नुको साथै जनता समाजवादी पार्टीले नै यो संविधानलाई कालो संविधान भनेको दाबी गरे ।

मन्त्री सोनले मात्र नभई प्रदेश २ सरकारले नै संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसैगरी जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले सदरमुकाम गौरमा संविधानविरुद्ध प्रदर्शन नै गरेका छन् । संविधान आदिबासी, जनजाति, मधेसी, दलितको पक्षमा नभएको र जनताको भावनाविपरीत भएकोले संशोधनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा प्रदेश सभामा जसपाका केन्द्रीय सदस्यहरु तथा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले संविधानको विरोध गरेका हुन् । संविधान संशोधन गर, मधेसीको माग पूरा गर, सबैको साझा संविधान बनाऊ लगायतको माग गर्दै जसपा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ